मेगा बैंकको साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

सफल खबर संवाददाता

विहीबार, ०७ पुस २०७९, १९ : १०
मेगा बैंकको साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ ।बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारण सभाले मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः९०) मा एक आपसमा गाभ्ने-गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । 

योसँगै नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ । साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुबै बैंकको नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुबै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापन तथा शेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्घि र निरन्तरता दिइने विश्वास व्यक्त गरे । ‘हामीले “हलोदेखि हाइड्रो” सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी शेयरधनी भएको बैंक र सबभन्दा बढी रु. २३३ करोड चुक्ता पूँजी भएको बैकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौं, मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु,’अध्यक्ष शाहले भने । 

यसैगरी, साधारण सभाले शेयरधनीहरुका लागि बोनस शेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । आ.व. २०७८-०७९ सम्म सञ्चित भएको बितरणयोग्य रकम  १,२६,३०,५९,५२०.८ं० रुपैंयाबाट हाल कायम चुक्ता पँुजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैंया ३६ पैसाको ४ प्रतिशतले हुन आउने रकम अक्षरेपी ६४ करोड ४८ लाख १८ हजार ४ सय ५८ रुपैंया १३ पैसा बोनस शेयर लाभांश र ३.७९ (राउन्डिङ्गमा) प्रतिशतले हुन आउने रकम रु. ६१ करोड २ लाख ४३ हजार २ सय ८० रुपैयाँ ६६ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस