सुर्खेत । निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने छ ।
अबको एक महिनाभित्र प्रदेश सरकार पनि गठन भइसक्नेछ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउनेछन् । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल सभामुखको भूमिकामा ज्येष्ठ सदस्य रहनेछन् । ज्येष्ठ सदस्यले नै अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् । त्यतिन्जेलसम्म दलहरूले संसदीय दलको नेता चयन गरिसक्नुपर्ने हुन्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख/उपसभामुखको निर्वाचन गराइसक्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म कम्तीमा ५ वटा बैठक सञ्चालन भइसक्छन् ।
प्रदेशसभाका नवनिर्वाचित ४० सदस्यमध्ये ज्येष्ठ सदस्य एमालेका विनोदकुमार शाह रहेका छन भने सबैभन्दा कान्छो सदस्यको रूपमा रुकुम पश्चिमकी तुल्सा मल्ल रहेकी छिन् । ज्येष्ठ सदस्यका रूपमा शाहले नै सांसदहरूलाई शपथ खुवाउने छन् । शाह दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् हो उनी ६६ वर्षका भए । सभामुख र उपसभामुख निर्वाचित नहुञ्जेलसम्म ज्येष्ठ सदस्यका रूपमा उहाँले नै सभा सञ्चालन गर्नुहुनेछ । शाहलाई भने प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउने छन् ।
यस्तै कर्णालीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा केन्द्रको हातमा रहेको नेताहरूको भनाइ छ । प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छ । गठबन्धनभित्रका दलहरू काँग्रेस, माओवादी र समाजवादीको गरी २८ सिट छ भने एमालेसँग १० सिट छ । गठबन्धनबाट कर्णालीमा काँग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् ।
बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही केन्द्रीय नेताहरूकै सल्लाह अनुसार आफू मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने उद्देश्यसहित प्रदेशमा आएको बताउदै आएका छन् । अन्य प्रदेशको तुलनामा माओवादीको जना धार कर्णालीमा बलियो भएकाले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने माओवादीको दाबी छ । त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादीका तर्फबाट सुझाव पत्रसमेत पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल
माथिल्लो कर्णालीमा स्रोत जुटाउन भारतमा त्रिपक्षीय सम्झौता
कर्णाली योजना आयोगले पायो पूर्णता
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण
कर्णालीमा कृषि उत्पादन घट्यो, दूध उत्पादनमा वृद्धि