मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन गरिएको छ ।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।
टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिए ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । “दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो”, उनले भने, “विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान संकलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ ।”
दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेला नै फेला परेको थियो । शेरचनको नेतृत्वमा विसं २०७२ फागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एयरको जहाजका पाटपुर्जा संकलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् ।
बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान संकलन गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु