झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको नेतृत्व उमेरले नभई एजेण्डाले गर्नुपर्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले संसदीय दलको नेताको दौडबाट बाहिरिए पार्टी पंक्तिमा सभापति देउवाप्रतिको सम्मान बढेर जाने उल्लेख गरेका छन् । उनले एजेण्डा युवा पुस्तामा रहेकाले सभापति देउवालाई सम्मानजनक रुपमा आफूलाई संसदीय दलको प्रतिस्पर्धाबाट बाहिर राख्न सुझाव दिए ।
महामन्त्री शर्माले बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी सभापति देउवाले अबपनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्ने बताए । उनले भनेका छन्, ‘पार्टी सभापतिले अब पनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्छ । पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका उहाँले अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने उहाँप्रतिको सम्मान दोब्बर भएर जान्छ ।’
उनले थपे, ‘त्यसैले उहाँले पद लिने भन्दा आफूप्रतिको सम्मान दोब्बर बनाउनेतिर लाग्नुपर्छ भन्ने मेरो सुझाव छ । यो सुझाव उहाँलाई काठमाडौंमा भेटेरै पनि म दिन्छु ।’ यसका साथै उनले संसदीय दलको नेता अर्का महामन्त्री गगन थापालाई बनाउनुपर्ने पनि प्रस्ताव गरेका छन् ।
उनले थापालाई दलको नेता बनाउने गृहकार्यमा आफू लागिसकेको समेत बताए ।उनले भनेका छन्, ‘संसदीय दलको नेता गगनजीलाई बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव छ । यसका लागि सिनियर नेताहरूसँग पनि छलफलहरू भइरहेका छन् । गगनजी संसदीय दलको नेता हुनुभयो भने देशमा एउटा नयाँ तरंग आउँछ ।’
यसका साथै महामन्त्री शर्माले अब बन्ने सरकार कांग्रेस नेतृत्वमै हुनुपर्ने धारणा राख्दै भनेका छन्, ‘पार्टी घोषणापत्र लेख्दा जसरी पाँच वर्षसम्म स्थिर सरकार चलाउँछौं भनी उल्लेख गरेका छौं । त्यसका लागि पनि वर्तमान गठबन्धन एकढिक्का हुन जरुरी छ । त्यसैले अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरै छैन । स्पष्ट छ कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न पाउन्न: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री पाँच वर्ष टिक्ने संवैधानिक व्यवस्था गर्नुपर्नेमा विश्वप्रकाश शर्माको जोड
आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्नेमा विश्वप्रकाश शर्माको जोड
‘आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ’: विश्वप्रकाश शर्मा
वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित