माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १५ : ०४
माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र

जुम्ला । माथिल्लो डोल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान सम्पन्न भएपछि हेलिकाेप्टरले मतपेटिका लिएर गएकाे तर कर्मचारीलाई नलगेपछि उनीहरू अलपत्र परेका हुन् । 

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी खटिएका थिए । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका-१ कोवासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताए ।

'कर्मचारीलाई चिसोका साथै खान र बस्न समस्याका भएको छ,' उनले भने, 'समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा छ । उनीहरूलाई टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुने गरेकाे बोहोराले बताए । उनले भने हिँडेर जाने सक्ने अवस्था नभएकाे बताए । याे स्थान पाँच हजार मिटर उचाइमा छ ।

उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी १ मंसिरदेखि अलपत्र परेका हुन् । 

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकोप्टरबाट सारेपश्चात् बाँकी कर्मचारी ल्याउने भनिए पनि हुम्ला प्रदेश ‘ख’ मा १३६ मतपेटिका सार्न गएकोले माथिल्लो डोल्पामा रहेका कर्मचारीहरुको उद्धार हुन नसकेको बताए ।

त्यसको लागि पहल भइरहेको उनकाे भनाइ छ । हेलिकोप्टरबाट उद्धार गर्न आग्रह गरेकाे उनले बताए । उनका अनुसार ४ मंसिरको निर्वाचनका लागि उनीहरूलाई हेलिकोप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो । कर्मचारीको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।

'निर्वाचनका लागि डोल्पामा पाँच सय ११ कर्मचारी खटिएका थिए,' उनले भने, '२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी आए पनि १२ मतदान केन्द्रमा खटिएका एक सय ३५ कर्मचारी थुनिएका छन् । बुधबार बिहान हेलिकोप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको छ ।'

चिसो पनि बढ्दै गएको र उक्त क्षेत्रमा हिउँ परेकोले केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरूको छिटो उद्धार गर्नुपर्ने अवस्था भएको उनको भनाइ छ ।

कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताए । उनका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा जनशक्तिको अभाव समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस