मधेस प्रदेशका अधिकांश मतदानस्थल र मतदानकेन्द्र अतिसंवेदनशील

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, ०९ : ५१
मधेस प्रदेशका अधिकांश मतदानस्थल र मतदानकेन्द्र अतिसंवेदनशील

जनकपुरधाम । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशमा उम्मेदवारहरूले आ(आफ्ना चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा रहँदा सुरक्षा निकाय भने शान्ति तथा भयमुक्त वातावरणमा चुनाव सम्पन्न गर्न तयारी अवस्थामा रहेको छ।

मधेस प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ वटा मतदानकेन्द्र निर्धारण गरिएकोमा छ जसमध्ये अधिकांश मतदानस्थल र मतदानकेन्द्र अतिसंवेदनशील रहेका छन्।

सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल र मतदानकेन्द्रलाई तीन समूहमा वर्गीकरण गर्दा १ हजार २३० वटा मतदानस्थल र २ हजार ४७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, ७७९ मतदानस्थल र १ हजार ४९८ मतदानकेन्द्र संवेदनशील, १४७ मतदानस्थल र २६५ मतदानकेन्द्र सामान्य रहेको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

सुरक्षा निकायले विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदानकेन्द्र र मतदानस्थलको वर्गीकरण गरेका हुन्। मधेस प्रदेशका ८ वटै जिल्लाको सीमा भारसँग जोडिएका कारणसमेत यस प्रदेशमा अन्य प्रदेशको तुलनामा सुरक्षा चुनौती थपिएको हो।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यस प्रदेशमा मतपेटिका लुटपाटको घटनादेखि लिएर मतदानको दिन गोलीसम्म चलेको थियो। यसका लागि सुरक्षा निकायले शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारी पूरा गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाबाहेक २३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरेर खटाइएको छ।

मधेस प्रदेशमा २३ हजार ७७१ जना म्यादी प्रहरी भर्ना गरिएकोमा धनुषामा ३ हजार ४८६, सर्लाहीमा ३ हजार ३०७, सप्तरीमा ३ हजार २७८, बारामा ३ हजार १४४, रौतहटमा २ हजार ९३९, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस