टी–२० विश्वकप पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै

सफल खबर संवाददाता

बुधबार, २३ कार्तिक २०७९, ०९ : ४८
टी–२० विश्वकप पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै

काठमाडौँ । टी–२० विश्कप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। सिड्नी क्रिकेट मैदानमा हुने खेल दिउँसो १स्४५ मा सुरु हुनेछ।

सुपर-१२ को भिडन्तको अन्तिम दिन २००९ को च्याम्पियन पाकिस्तानले सेमिफाइनलमा स्थान बनायो। दक्षिण अफ्रिका नेदरल्यान्डसँग पराजित हुँदा पाकिस्तानले अन्तिम खेलमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो। त्यसैले बाबर अजामको कप्तानीमा रहेको पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डको सामना गर्दै छ। विगतको आँकडालाई हेर्दा पाकिस्तान बलियो मानिएपनि वर्तमान फर्मलाई आधार मान्दा न्युजिल्यान्ड अगाडि रहेको छ।

हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल २८ खेल हुँदा पाकिस्तानले १७ खेलमा जित निकाल्दा न्युजिल्यान्डले ११ खेलमा जित हासिल गरेको छ। यि दुईबिच पछिल्लो पटक ट्राइसिरिज अन्तर्गत प्रतिस्पर्धा भएको थियो। जहाँ अन्तिम खेलमा १४ अक्टोबर २०२२ मा पाकिस्तानले न्युजिल्यान्डलाई हराएको थियो। तर सिरिज भने न्युजिल्यान्डले जितेको थियो।

न्युजिल्यान्ड एक खेलमा पराजित
विश्वकपमा न्युजिल्यान्डको अहिलेसम्मको यात्रा राम्रो रहेको छ। समूह १ मा न्युजिल्यान्डले केवल एक खेल मात्र गुमाएको छ। पहिलो खेलमा अस्ट्रेलियालाई ८९ रनले हराएको न्युजिल्यान्डले त्यसपछि श्रीलंका र आयरल्यान्डलाई पराजित गरेको थियो। अफगानिस्तान विरुद्वको खेल वर्षाका कारण रद्द भएको थियो। इंग्ल्यान्डसँग भने न्युजिल्यान्ड पराजित भएको थियो।

पाकिस्तान भाग्यमानी
पाकिस्तानका लागि भने जारी विश्वकप यात्रा उतरचढावपुर्ण रह्यो। समूह २ मा रहेको पाकिस्तानले भारत विरुद्व पहिलो खेल गुमाउँदै प्रतियोगिताको सुरुवात गर्यो। त्यसलगतै पाकिस्तानले दोस्रो खेलमा जिम्बावेसँग १ रनको हार भोग्यो। लगातार दुई हारका कारण आफ्नो हातबाट सेमिफाइनल गुमाएको पाकिस्तानले त्यसपछिका बाँकी तीन् खेलमा जित निकाल्यो भने अन्य टिमको नतिजा पनि आफु अनुकुल आउँदा अन्तिम चारमा स्थान बनायो।

प्रतिक्रिया दिनुहोस