निर्वाध प्रचारप्रसारको वातावरणका लागि आयोगको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १९ : ४९
निर्वाध प्रचारप्रसारको वातावरणका लागि आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो ।

विभिन्न जिल्लामा उम्मेदवारहरूले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सो निर्देशन दिएको हो ।

“नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस