निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, ०९ : ४२
निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।

उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै दुविधा हुन नदिन निर्देशन दिएका हुन्।

‘हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ’, उनले भने। प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याइ निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिए।

उनले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिए।उनले निर्वाचनमा केही उच्शृङ्खल तत्वले बिथोल्न खोज्छन् भन्ने त्यसप्रति सजग रहन आग्रह गरे।

निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्याङ्कनको हुने प्रहरी महानिरीक्षक सिंहको भनाइ छ।

उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस