तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार चाँडै निर्माण हुन्छ : विष्णु पौडेल

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १९ : ००
तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार चाँडै निर्माण हुन्छ : विष्णु पौडेल

बुटवल । रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने बताएका छन् । तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताए । 

पूर्वाधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उनले त्यसपछि तिलोत्तमा १ का वासीहरूको मुहार बदल्ने उनले बताए । मेडिकल कलेज निर्माणसँगै सडक, पूर्वाधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना पनि सो क्षेत्रमा हुने उनको भनाइ छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए । 

तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि तिलोत्ततमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो । अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको बताउँदै नेता पौडेलले मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए ।

तिलोत्तमा नगरपालिकाका वडानम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजनाअनुसार १ हजार बेडको अस्पताल बन्नेछ । 

प्रतिक्रिया दिनुहोस