यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ र मूल्यवृद्धि ६.३ प्रतिशतः विश्व बैंक

रासस

सोमबार, १४ कार्तिक २०७९, २० : १५
यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ र मूल्यवृद्धि ६.३ प्रतिशतः विश्व बैंक

काठमाडौँ । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आँकलन गरेको छ। ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५.८ प्रतिशतले बढ्ने आँकलन गरेको हो। सन् २०२३ मा ५.१ र सन् २०२४ मा ४.९ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वल्र्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो। सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठप्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

सन् २०२२ को मुद्रास्फीतिदर ६.३ प्रतिशत रहने आँकलन विश्व बैंकको छ। सन् २०२३ मा ५.५ र सन् २०२४ मा ५.३ प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ। चालु आब २०७९/८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आँकलन पनि विश्व बैंकको छ। सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ। सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, आठ दशमलव नौ र पाँच दशमलव छ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ। सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

आगामी दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस