४ सय मिटर दौडमा २ राष्ट्रिय कीर्तिमान

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १२ : ०५
४ सय मिटर दौडमा २ राष्ट्रिय कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ वटा राष्ट्रिय नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार बिहान भएको ४ सय मिटर पुरुष र महिला दौडमा २ कीर्तिमान बनेका हुन् ।

पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका छन् । उनले सन् १९९० मा चीनको वेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।

महिलातर्फ एपीएफकी रमिताकुमारी थारैले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् । यस्तै, पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।

महिला तर्फ आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले काँस्य पदक जित्न सफल भए । थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दुरी पूरा गर्दै पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस