आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्छ : माधव नेपाल

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १५ : ५३
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो ।

आइतबार काठमाडौंमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गरे ।

उनले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गरे । उनले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नैपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘गठबन्धन दललाई तपाईहरुले विजयी गराउनु पर्दछ । धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यक्ता छैन । हामीले मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौं । संविधाननै धरापमा परिसकेको थियो । लोकतन्त्र नै धरापमा पर्ने अवस्था भइसकेको थियो । पटकपटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो बाम–लोकतान्त्रिक गठबन्धनले महत्वपूर्ण भूमिका खेल्यो । त्यसमा निम्ति तपाईहरुले यी सबै नेताहरुलाई धन्यवाद दिनु पर्दछ ।’

उनले फेरि भने, ‘र, गठबन्धनमा सामेल भएका पार्टीहरुलाई पनि, जुन पार्टीका कार्यकर्ताहरुले मेचीदेखि महाकालीसम्म प्रतिगमनका विरुद्धमा तरंग पैदा गर्नु भएको थियो । जनतालाई जागृत गर्नु भएको थियो । उत्प्रेरित गर्नु भएको थियो । जसको प्रभावबाट सर्वोच्च अदालतले बडो राम्रो फैसला ग¥यो । प्रतिनिधिसभाको पुनस्थापना भयो । र, मुलुक त्यसपछि ठिक बाटोमा अगाडि बढन थाल्यो । फेरि पनि बक्रदृष्टि प¥यो । त्यसलाई फेरी सामना गर्नुप¥यो । बल्ल अहिले मुलुक एउटा अवस्थामा अगाडि बढिरहेको छ । भोलीको निम्ति फेरि पनि खतरा विद्यमान छ । बानी बिग्रिसकेपछि सुध्रिन धेरै गाह्रो हुन्छ ।’

त्यस्तै उनले विचार र मान्यताहरु खोटपूर्ण भइसकेपछि देश सही दिशामा अगाडि जान नसक्ने उल्लेख गर्दै देशले लोकतन्त्रको माग गरेको बताए । देशको अधिनायक र निरंकुशताको माग नगरेको उनको भनाइ छ ।

‘सर्वसत्ताको काम गरेको होइन, हामी सर्वसत्तावादको विरुद्धमा छौं, लोकतान्त्रिकरणको पक्षमा छौं, जनअधिकारको पक्षमा छौं’, उनले भने, ‘र, हामी देश विकासको पक्षमा रहेका छौं । जनताको अधिकारको पक्षमा रहेका छौं । त्यसो हुनाले संविधानले जुन मान्यताहरु अगाडि सारेको छ । ती सबै मान्यताहरुलाई हामीले व्यबहारमा उतार्नुपर्ने आवश्यक्ता छ । यहाँ यस निर्वाचन क्षेत्रसँग जोडिएका विषय बस्तुका बारेमा हाम्रो उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ । जनताका चाहनाहरु, मागहरु, विकासका आकांक्षाहरु, काममा हुने गरेका ढिलाईहरु, विकास निर्माणमा रहेका अवरोधहरु, यी सबै कुराहरुको सन्दर्भदेखि लिएर, अनेक विषयहरुको बारेमा उम्मेदवारहरुले पूरा गर्नका लागि जुन हिसावले कुरा गर्नु भएको छ । अनुकूलता के छ भने भोली पनि भविष्य गठबन्धन दलकै छ । र, गठबन्धनमा रहेका महत्वपूर्ण नेताहरु र पार्टी भईसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यसकारण तपाईहरु उहाँसँग विश्वस्त भए हुन्छ ।’

उनले फेरि भने, ‘सँगसँगै केन्द्रबाट, मन्त्रिपरिषद्बाट अनेक खालका कानुनी अवरोधहरु आउलान, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरु पनि यही छन भन्ने पनि सबैको ध्यान जानुपर्ने आवश्यक्ता पर्छ । त्यसो भयो भने तपाईहरु यस निर्वाचन क्षेत्र नम्बर २ मा यो वास्तवमा हुनुपर्ने क्षेत्र नम्बर १ हो । तर, २ पारियो । म ब्याख्या गर्न चाहन्न किन पारियो भनेर । प्रकाशमानजीको क्रिपाले गर्दा यो २ नम्बर हुन पुग्यो । जे भएपनि यसमा दुईवटा नगरपालिका छन् ।’

अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराए । मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस