शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छः शेखर कोइराला

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १८ : ५३
शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छः शेखर कोइराला

मोरङ। मुलुकको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा गम्भीरतापूर्वक काम गर्नुपर्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्।

विराटनगरमा मोरङ क्षेत्र नम्बर ६ ख र विराटनगर महानगरपालिका कमिटीद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले मुलुकलाई सभ्य र दरिलो बनाउन शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताए।

जनतालाई शिक्षित, स्वस्थ्य र रोजगारीमा अभ्यस्त बनाउन निर्वाचनपछि कांग्रेसको सरकार बन्नुपर्ने उनले बताए।कक्षा १२ सम्म निःशुल्क बनाउनेतर्फ कांग्रेस अग्रसर रहेको बताएका नेता कोइरालाले नागरिक आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपर्ने गरी कांग्रेसले गम्भीरतापूर्वक काम गर्ने बताए।

नागरिकको शिक्षा र स्वास्थ्यसँगै रोजगारी क्षेत्रमा अझै धेरै कार्य गर्न बाँकी रहेको बताउँदै कोइरालाले तीन क्षेत्रमा जनतालाई अभ्यस्त बनाउँदै क्षेत्र, समाज सभ्य र बलियो बनाउनुपर्नेमा जोड दिए।

अर्को एक प्रसंगमा नेता कोइरालाले संविधानको कारण दलहरूले सरकार नेतृत्व गर्न निर्वाचन पूर्व गठबन्धन बनाउनु वा निर्वाचनपछि गठबन्धन बनाउनुपर्ने अवस्था सिर्जना भएको छ। नेता कोइरालाले भने, ‘निर्वाचन प्रणाली यस्तो बनेको छ। यसले कहिल्यै पनि कुनै पनि पार्टीको बहुमत आउनसक्ने अवस्था देखिँदैन। यतिबेला हामी प्रि गठबन्धन गरी निर्वाचनमा अघि बढेका छाँै। योे गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्नेछ। संविधानलाई सही मार्गमा ल्याउने र समृद्धिको बाटोमा अघि बढ्न सकिन्छ।’

पाँच वर्षको अन्तरमा विकास निर्माण भएन भन्ने गुनासोलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘हामीकहाँ सडक, नाला, सरसफाइ नभएको गुनासो आउने गरेको छ। हामीले यसलाई समेत व्यवस्थित गरेर निर्वाचनमा जनताको मत जित्नेछौँ।’

मोरङ क्षेत्र नम्बर ६ लाई नमुना क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताएका कोइरालाले सो क्षेत्रको प्रदेश ‘क’ र ‘ख’लाई विकास गरि मुलुकमै नमुना क्षेत्र बनाउन सबै एकढिक्का भएर अघि बढ्न आह्वान गरे।

औद्योगिक सहरको स्तर घट्दो अवस्थामा रहेको बताएका उनले हामी सबैको सामूहिक प्रयासले विराटनगरलाई पुरानो अवस्थाको विराटनगर बनाउन सकिने बताए। त्यसमा सबै नागरिकको साथ र सहयोगको आवश्यकता रहनेमा नेता कोइरालाले जोड दिए।

कार्यक्रममा सोही क्षेत्रको प्रदेश ‘ख’ उम्मेदवार केदार कार्की, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेत्री मृदुला कोइराला, महानगरका सभापति दीपक चापागाईंलगायतको उपस्थिति थियो।

डा. कोइराला निर्वाचन मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि सभा सदस्यतर्फको उम्मेदवार छन्।

 

प्रतिक्रिया दिनुहोस