राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

रासस

मंगलबार, २५ असोज २०७९, १४ : ३६
राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि मंगलबार दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिइन् । 

“उनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उनले भने, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।” यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उनको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस