कञ्चनपुरमा नेकपा एसले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गर्ने

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १२ : ५९
कञ्चनपुरमा नेकपा एसले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गर्ने

धनगढी । कञ्चनपुमा सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा मित्रवत प्रतिष्पर्धा गर्दै आफ्ना उम्मेदवारलाई प्रतिष्पर्धामा उत्रार्ने भएको छ । प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिट नपाएपछि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ ।

गठबन्धनमा दाबी रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २(ख) र ३(क)मा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ । सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का गठबन्धनविरुद्ध बागि उम्मेदवार बन्ने भएका छन् ।

रावल क्षेत्र नम्बर ३(क) र खड्का क्षेत्र नम्बर २(ख) मा चुनाव लड्ने छन् । ‘गठबन्धनबाट कञ्चनपुरमा एउटा सिट पाएनौँ, हाम्रो दाबी रहेको क्षेत्रमा उम्मेदवारी दिन्छौँ,’ आर्थिक मामिलामन्त्री रावलले भने, ‘कांग्रेस र माओवादीसँग मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीले ३ (क) र ३ (ख) मा अन्तिमसम्म दाबी गरेको थियो । प्रदेश सभा ३(क) मा सत्तारुढ गठबन्धनबाट माओवादीका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट र २ (ख) मा कांग्रेसका नेता पूर्व संविधान सभा सदस्य बहादुरसिंह थापाले टिकट पाएका छन् ।