कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार

रासस

मंगलबार, १८ असोज २०७९, १४ : ३३
कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार

काठमाडौँ । नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरुको महत्वपूर्ण चाडपर्व दसै, तिहार, छठलगायत शुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रुपले बढ्छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् । 

मूख्य पर्यटकीय याम शुरु भएकाले विदेशी पर्यटकको आगमनमा वृद्धि भएको र आन्तरिक पर्यटकले गन्तव्य भरिभराउ रहेको पर्यटन व्यवसायी मोहन लम्साल बताउनुहुन्छ । “विस्तारै पर्यटकको फ्लो बढेको छ । महत्वपूर्ण पर्यटकीय याम चलिरहेकाले आगामी दिन पर्यटनका लागि सुखद् रहने देखिन्छ ।

अहिलेको पर्यटन क्षेत्रको चहलपहलले व्यवसायीलाई उत्साहित बनाएको छ”, नेपाल पर्वतारोहण सङ्घका महासचिव समेत रहनुभएका व्यवसायी लम्सालले भन्नुभयो ।

यतिखेर पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपालका विभिन्न गन्तव्यमा निस्केका छन् । आन्तरिक पर्यटक पनि गन्तव्यमा झुम्मिएका छन् । पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको शरद ऋतुमा सगरमाथासहित विभिन्न २१ हिमाल तथा चुली आरोहणका लागि ६९ आरोही समूहका पाँचसय ७९ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका ४०४ जनाले अनुमति पाएका छन् । उनीहरु यतिखेर आरोहणमा व्यस्त छन् । नेपालसहित ६७ देशका नागरिक पर्वतारोहणमा निस्किएका छन् ।

आन्तरिक पर्यटकको पनि गन्तव्यमा घुँइचो लाग्छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । महामारीपछि पर्यटक आगमनदर सुध्रिएको छ भने पर्यटकीय गतिविधि पनि बढेको छ । राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रा गन्तव्यमा उल्लेख्य सङ्ख्यामा पर्यटक गएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले पछिल्लो सयम विदेशी तथा स्वदेशी पर्यटक बाक्लो सङ्ख्यामा गन्तव्यतिर लागेको बताउनुभयो । चर्चित अन्नपूर्ण, लाङटाङ् खुम्बु क्षेत्रलगायत क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बाक्लिएको छ । अन्य गन्तव्यमा पनि पर्यटन गतिविधि बढेको छ ।