तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, १० : १९
तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ ।

प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।

निर्वाचनपश्चात फिर्ता हुने गरी आगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी इकाईमा हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका ७९५ हतियार रहेका छन् ।

तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको संख्या जिल्लामा ७९५ छ । त्यसमध्ये ५६७ भरुवा बन्दुक र २२८ राइफल रहेका प्रशासनले जनाएको छ । 

हातहतियार खरखजाना ऐन २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए १ वर्षदेखि ३ वर्षसम्म कैद र ३ हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
‘चुनावलाई सुरक्षित र भयरहित बनाउनका लागि सबै हतियार बुझाउन आग्रह गरेका छौं,’ उनले भने, ‘चुनावपछि हतियार पुनः फिर्ता गरिने भएकाले जतिसक्दो छिटो नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस