साँस्कृतिक विश्वविद्यालय स्थापन गर्नुपर्छः गहतराज

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १५ : ४४
साँस्कृतिक विश्वविद्यालय स्थापन गर्नुपर्छः गहतराज

काठमाडौँ  । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा साँस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन्। संगीतकार संघ नेपालले शुक्रवार आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गहतराजले नेपालमा साँस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए।

कला, साहित्य र संगीत क्षेत्रमा काम गर्नेहरूलाई डिग्री दिनका लागि सांस्कृतिक विश्वविद्यालय आवश्यक रहेको उनले बताए। मन्त्री गहतराजले विषयगत शिक्षा दिनुपर्नेमा जोड दिए। उनले आफूले खेल क्षेत्रलाई पनि शिक्षाको रुपमा अगाडि बढाउन पहल गरेको भन्दै उनले खेलकुद विश्वविद्यालय स्थापनाको लागि पनि छलफल सुरु गरेको बताए।

उनले भने, ‘अब खेललाई हामीले शिक्षाको रुपले अगाडि बढाउन पहल सुरु गरेजस्तै हामीले एउटा पहल थालौँ। साँस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने? सबैलाई जीवन दिने मानिसको तेरो सर्टिफिकेट कति हो भनी सोध्नुपर्ने जस्तै।उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि ! कतिबेला उसले साधना गर्छ भन्ने कुरा छ। एउटा खेलाडी खेल मैदानमा हुन्छ। उसले कतिबेला कोर्स पढ्न पाउँछ? त्यसैले यो विषयगत शिक्षा आर्जन नगर्दासम्म हामी अगाडि बढ्न सक्दैनौँ। प्रत्येक चिजको सम्मान भनेको विषयगत शिक्षा र विषयगत डिग्रीले मात्रै हो भन्ने मलाई लाग्छ। त्यसैले यो छलफल पनि आगामी दिनमा थालौँ।’

मन्त्री गहतराजले नेपालको सांगीतिक क्षेत्रले नेपालको राजनीतिक प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस