मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, ११ : ५२
मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत निरौलाले बोर्ड राखेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए ।

उनले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।  मकवानपुर जिल्लामा प्रतिनिधिसभाको दुईवटा र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् । 

प्रतिक्रिया दिनुहोस