आजदेखि चितवनमा पठाओ सेवा शुरु

सफल खबर संवाददाता

शनिबार, ०८ असोज २०७९, १३ : १४
आजदेखि चितवनमा पठाओ सेवा शुरु

चितवन । लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ शनिबारदेखि औपचारिक रुपमै चितवनमा पनि आफ्नो सेवा शुरु गरेको छ । नेपालमा व्यवसायिक यात्राको ४ वर्ष पूरा गर्दैगर्दा पठाओले काठमाडौं उपत्यकासहित बागमती प्रदेशको चितवनमा पनि राइड सेयरिङ सेवा शुरु गरेको हो । २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत कम्पनीले नेपालमा सेवा सुरू गरेको थियो । 

आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा टेवा दिँदै ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ ।

अहिले राजधानीका ५० प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् । राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरू गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको समेत सुरू गरेको छ ।  

प्रविधिको विकासले ल्याइदिएको यो सुविधाकै कारण अहिले दैनिकरूपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडरक्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेको कम्पनीले जनाएको छ । पठाओले गत वर्षदेखि पठाओ बजार पनि सुरू गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी २०७८ को जेठ ३० गतेदेखि पठाओ बजार सुरू गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस