निर्वाचन सफल बनाउन सरकारले पत्रकारसँग ठूलो अपेक्षा राखेको छ : सञ्चारमन्त्री कार्की

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, २० : ११
निर्वाचन सफल बनाउन सरकारले पत्रकारसँग ठूलो अपेक्षा राखेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधमिन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय सरकार निर्माण भइसकेको स्मरण गर्दै आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पत्रकारको अझै ठूलो योगदानको अपेक्षा रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले भने, “हामी अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सङ्घारमा छौँ, तपाईं पत्रकार र प्रेस काउन्सिलको अझै बढी योगदान समाजले चाहेको छ, सरकार स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीयरूपमा निर्वाचन सम्पन्न गराई जनमतमार्फत मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने आकाङ्क्षालाई सफल बनाउन प्रतिबद्ध छ ।”

त्यस्तै उनले त्यसका लागि सकारात्मक योगदान गर्न आग्रह गरे । उनले मञ्चमा आएर कर्तव्य र अधिकारको कुरा गर्न सहज हुने उल्लेख गर्दै तर त्यसलाई व्यवहारमा परिणत गर्न कठिन हुने भएकाले कार्यान्वयनतर्फ लाग्न ध्यानाकर्षण गराए ।

प्रेस काउन्सिल कुन उद्देश्यका साथ स्थापना भएको हो र त्यो उद्देश्यमा काउन्सिल कति अघि बढेको छ, अहिलेको समयको चुनौतीलाई सामना गर्न कति सक्षम छ, त्यसतर्फ पनि विश्लेषण गर्नु जरुरी रहेको उनले औँल्याए ।

मन्त्री कार्कीले काउन्सिलप्रति समाजले अझै धेरै अपेक्षा गरेको बताउँदै प्रेरणाको स्रोत बन्न युवा पत्रकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस