चितवन । चितवनका दूग्ध किसानहरुले विदेशबाट दूध आयातमा लागेको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संस्थाले आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गरेर उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो । सरकारले स्वदेशमा नै लगानी गरेर किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै विस्थापित गर्न खोजेकोप्रति पनि संघले आपत्ति जनाएको छ ।
२०७५ सालमा नेपालमा विदेशबाट दूध आयातमा रोक लगाईएको थियो । हालै मात्र सरकारले निजी डेरीहरुलाई एक लाख २० हजार लिटर दूध आयातका लागि अनुमति दिएको छ । संघले सरकारको उक्त निर्णयको विरोध गरेको हो ।
संघका अध्यक्ष रत्नमणी न्यौपानेले दूध आयातको निर्णयमा पुनर विचार गर्न सरकारसँग आग्रह गरे । माग बढे उत्पादन बढाउन किसानहरु तयार रहेको भन्दै उनले सरकारले निर्णय फिर्ता नगरे जस्तो सुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए । उनले सरकारको उक्त निर्णयमा संघको केन्द्रीय समितिले पनि समर्थन जनाउनु दुस्खद भएको समेत बताए ।
यस्तै उनले किसानसँग उधारो दूध लिएर महिनौंसम्म भुक्तानी नगर्ने निजी डेरीहरुले विदेशबाट दूध ल्याउन लागेको प्रति पनि आपत्ति जनाए । उनका अनुसार चितवनका निजी डिरी व्यवसायीले किसानलाई करोडौं रुपैयाँ तिर्न बाँकी छ ।
संघका सचिव किशोर बगालेले भारतबाट दूध आयात भए बाटोमा रोकेर नष्ट गरिदिने चेतावनी दिए । ‘बाटो यही हो । आपँटारीमा हुँदै जाने त हो नि । ट्याङ्कर खाली जान्छ कि दूध लिएर जान्छ ख्याल गर्नुहोला’, बगालेले भने ।
उनले भारतबाट गुणस्तरहीन दूध आयात गर्न लागेको समेत बताए । ‘पटना र यहाँ दूधको मूल्य लगभग बराबर नै छ । पटनाबाट आयात गरेर क्याएको दूध र यहाँको दूधमा कुन सस्तो हुन्छ ? यहाँ सस्तो हुने भएको गुणस्तरहीन दूध हो । गुणस्तरहिन दूध ल्याएर यहाँ बेच्न खोज्ने ?’, उनले भने ।
उनले माग बढेको हो भने उत्पादन बढाउन किसानहरु तयार रहेको बताए । ‘माग बढेको छ । किसानहरु उत्पादन बढाउन तयार छन् । सरकार उत्पादन बढाउने कार्यक्रम लिएर किसानसम्म पुग्नुपर्यो’, उनले भने ।
चितवनमा ६८ हजार ९११ दूधालु गाई भैंसी छन् । जसबाट दैनिक तीन लाख ५० हजार दूध उत्पादन हुने गरेको छ । चितवनमा उत्पादन हुने दूध यही खपत गरेर ४५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा आयात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, १४ : २७
लेखकबाट थप