अभिनेता प्रदीप खड्काद्वारा विकास बोर्डका अध्यक्ष केसीको राजीनामा माग

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, १९ : ०९
अभिनेता प्रदीप खड्काद्वारा विकास बोर्डका अध्यक्ष केसीको राजीनामा माग

काठमाडौं । ‘प्रेमगीत’फेम अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता प्रदीपले बोर्डका अध्यक्ष केसीको राजीनामा माग गरेका हुन् ।

अभिनेता प्रदीपले कात्तिक १ गतेदेखि (आज)बाट लागू हुने गरी राति ११ बजेपछि फिल्म हल बन्द हुने निर्णय गरेको भन्दै विकास बोर्डका अध्यक्ष केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको सो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत–३’ प्रति लक्षित भएको प्रदीपको आरोप छ ।

उनले मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुल्ला हुने तर, कफी र पपकर्न खाँदै हेरिने फिल्म हल बन्द गर्ने निर्णय गलत भएको बताए । उनले भनेका छन्, ‘उहाँले (भुवन केसीले)राजीनामा दिँदा इज्जत बढ्छ ।’

यसका साथै प्रदीपले निर्माताको हकहितको पक्षमा निर्माता संघसमेत नबोलेको भन्दै यस्तै अवस्था रहे समानान्तर निर्माता संघ बनाउने चेतावनी पनि दिए । फिल्म सम्बन्धी नीति बनाउनेहरु बौद्धिक नहुँदा निर्माता र कलाकारहरुले दुःख पाइरहेको उनको भनाइ छ ।

प्रेमगीत–३ का निर्माता–निर्देशक सन्तोष सेनले पनि विकास बोर्डको यो निर्णय असोज ७ गतेबाट विश्वभर रिलिज हुन लागेको आफ्नो ‘प्रेमगीत–३’ प्रति लक्षित भएको बताए । उनले भनेका छन्, ‘प्रेमगीत–३’ मेरो अथवा प्रदीपको फिल्म हैन नेपालको फिल्म हो । हामीलाई भष्म बनाउने राजनीति नगरौं ।’

विकास बोर्डले रिलिजको एक साता अगाडि नै फिल्म जाँचपासको लागि निवेदन दिनुपर्ने र विहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने नियम बनाएको छ ।

प्रदीप खड्का र कृष्टिना गुरुङको मुख्य भूमिका रहेको ‘प्रेमगीत–३’ असोज ७ गतेबाट नेपाल र छिमेकी राष्ट्र भारतका साथै विश्वभरका हलहरुमा एकसाथ रिलिजमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस