काठमाडौं । यूएईमा जारी एसिया कप टी–२० क्रिकेटमा आज एक खेल हुँदैछ । सुपर फोरअन्तर्गत आज हुने खेलमा समूह ‘ए’ को विजेता भारतले र सोही समूहको उपविजेता पाकिस्तानको सामना गर्नेछ ।
पाकिस्तान र भारतबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ मा सुरु हुनेछ । सात पटकको विजेता भारत आज जित हात पार्दै सुपर फोरको यात्रालाई सुखद बनाउन चाहन्छ । दुईपटकको विजेता पाकिस्तान पनि जितका साथ सुपर फोरको यात्रा सुरु गर्ने सोचमा छ ।
एसिया कपको इतिहासलाई हेर्ने हो भने भारत पाकिस्तानविरुद्ध हाबी देखिन्छ । यो प्रतियोगितामा हालसम्म यी दुई टोलीले १५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा १३ एकदिवसीय र दुई टी–२० अन्तर्राष्ट्रिय खेल सामेल छन् ।
एसिया कपमा भारतले ९ तथा पाकिस्तानले ५ खेल जित्दा एक खेल बिना नतिजा टुंगिएको छ । यी दुई टोलीले १९८४ को एकदिवसीय एसिया कपमा पहिलोपटक एकअर्काको सामना गरेका थिए । यो खेलमा भारत ५४ रनले विजयी भएको थिए ।
भारत र पाकिस्तान पछिल्लोपटक टी–२० शैलाीमा जारी यही एसिया कपको समूह चरणमा एकअर्काविरुद्ध भिडेका थिए । यो खेल भारत ५ विकेटले आफ्नो पक्षमा पारेको थियो । पाकिस्तानले २०१४ को एसिया कपमा एक विकेटको जित हात पारे यता भारतलाई हराउन सकेको छैन । उसले त्यसयता भएका चारै खेलमा पराजय बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १२ : ३२
लेखकबाट थप