विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लागौं : मन्त्री पौडेल

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १३ : ४८
विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लागौं : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन ।

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए।

उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने बताए । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरुसँग मन्त्रालयमा छलफल गरिरहेको पनि बताए ।

नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटी भइरहेको बताए । उनले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत जनाए।

मन्त्री पौडेलले शैक्षिक संस्थाहरुको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको बताए।