विद्युत प्राधिकारणको लापरवाहीले गर्दा करेन्ट लागेर एक बालक गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १९ : ५९
विद्युत प्राधिकारणको लापरवाहीले गर्दा करेन्ट लागेर एक बालक गम्भीर घाइते

मकवानपुर । नेपाल विद्युत प्राधिकारणको लापरवाहीले गर्दा थाहा नगर ९ मा एक बालकलाई करेन्ट लागेको छ । नगरपालिकाको ९ नम्बर वडा चित्लाङ्ग खलिबनमा करेन्ट लाग्दा ११ वर्षका सुदिप तामाङ्ग गम्भीर घाइते भएका छन् । करेन्ट लाग्दा उनको हातै छिनेको छ साथै उनको शरिरको बिभिन्न भागमा गम्भीर क्षती पुगेको छ ।

उनको अहिले किर्तिपुर स्थित बर्न अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । उनको अवस्था अत्यन्त गम्भिर रहको डाक्टरहरुले बताएका छन् । तामाङ्गलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा करेन्ट लागेको थियो ।

खेल्ने क्रममा घर नजिकैको विद्युत पोलमा चंगा अड्केको र त्यसलाई झिक्न खोज्दा करेन्ट लागेको बताइएको छ ।केही समय अगाडि मात्र निर्माण भएको ३३ हजार केवीए लाइनको पोल पुरै ढल्केको र तार पनि जमिनबाटै छुने देखिन्छ  । यस बारेमा प्राधिकरण समक्ष गुनासो गरे पनि सुनवाई नभएको स्थानिय सानुकान्छा तामाङ्गले बताएका छन् । उनका अनुसार गाउँलेहरुलाई प्राधिकरणले तारमा करेन्ट प्रवाह गरेको पनि थाहा छैन ।

उनी  भन्छन, “केही समय अघिमात्र प्राधिकरणबाट निरिक्षणको लागि गाउँमा केही प्राविधिक आएका थिए, उनीहरुलाई पोल र तार व्यवस्थित नगरि लाइन नछोड्न भनेका थियौं । उनीहरुले पनि सबै व्यवस्थीत भए पश्चातमात्र करेन्ट छोड्ने बताएका थिए । तर कहिले लाइन छोडे हामीलाई थाहा भएन । यही सुचना थाहा हुन्थ्यो भने आजको घटाना घट्ने थिएन कि? अब यसको सबै जिम्मा प्राधिकरणले नै लिनु पर्दछ ।”

यस विषयमा प्राधिकरणका प्रबक्ता सुरेश भट्टराईसँग कुरा गर्दा नेपालको सबै तिरको माटो नै बग्नेखालको भएको हुँदा पोलहरु ढल्कीने हुन्छ । त्यसरी पोल, तारमा केही समस्या आए बितरण केन्द्रले हेर्ने हुँदा उनीहरुसँग बुझेर मात्र के भएको हो भन्न सक्छु भने । 

प्रतिक्रिया दिनुहोस