नागरिकता सरल बनाऔँ, सस्तो नबनाऔँ : गोकुल बाँस्कोटा

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १६ : १०
नागरिकता सरल बनाऔँ, सस्तो नबनाऔँ : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसदको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरुबाट सिकेर भए पनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए।

उनले हतार–हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताए। सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताए।उनले संविधानबमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको जिकिर गरे। उनले यदि राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिए।

उनले भने,‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानु हुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर हुँदैन। यो नेपाली जाती र नेपाल राष्ट्रका नागरिकहरुले प्राप्त गर्ने कुरा हो। यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन।’

बाँस्कोटाले थपे, ‘संविधान बमोजिम राष्ट्रपतिले पठाउनुभयो। यसमा प्रश्न उठाउने? मिल्छ त्यो? कि त भन्नुपर्छ, संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ? त्यो त सक्नुहुँदैन। गलत तरिकाले पास नगरौँ। रङ हामीले होइन, तपाईंहरुले बदल्नु भएको हो। नागरिकता सरल बनाऔँ, सस्तो नबनाऔँ।’

प्रतिक्रिया दिनुहोस