प्रमुख निर्वाचन आयुक्त यादव भन्छन् - 'समानुपातिकमा बन्द सूचीका नामहरूलाई तलमाथि गर्न पाइँदैन'

बुधबार, २७ मंसिर २०७४, १९ : ५२
प्रमुख निर्वाचन आयुक्त यादव भन्छन्  - 'समानुपातिकमा बन्द सूचीका नामहरूलाई तलमाथि गर्न पाइँदैन'


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरूले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेदवारका नामहरूलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन्।

बुधबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘दलहरूले आयोगमा बुझाएको बन्द सूची अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरूलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि दलहरूले यसलाई अनिवार्य रूपमा फलो गर्नुपर्छ।’ उनले समानुपातिकमा बन्द सूचीका नामहरूलाई तलमाथि गर्न नपाईने स्पष्ट पारेका छन्।
उनले निर्वाचनमार्फत आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गरे। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षा चुनौतीबीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन्।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणको निर्वाचनमा ६८ दशमलव २ प्रतिशत मत खसेको थियो। प्रमुख निर्वाचन आयुक्त यादवले दुवै चरणको निर्वाचनमा आम मतदाताको उल्लेख्य सहभागिता रहेको दाबी समेत गरे।
त्यस्तै उनले सबैभन्दा धेरै बदर मत ५.१८ प्रतिशत भएको पनि जनाए । समानुपातिकतर्फको नतिजा ७ वटै प्रदेशको छुट्टाछुट्टै नतिजा तयार पार्ने र परिणाम सूचिलाई प्रदेश प्रमुखलाई बुझाउने समेत जनाए ।

प्रतिक्रिया दिनुहोस