पार्टीका प्रतिनिधिले नै अवरोध गरेपछि बन्चरेडाँडामा सयौँ प्रहरी परिचालन

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १५ : २८
पार्टीका प्रतिनिधिले नै अवरोध गरेपछि बन्चरेडाँडामा सयौँ प्रहरी परिचालन

 काठमाडौं ।  सरकारले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फेरी प्रहरी परिचालन गरेको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई सत्तारुढ दलकै प्रतिनिधिहरूले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो ।बन्चरेडाँडामा सरकारले सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरेको छ। फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका २५ वटा गाडी आइतबार फोहोर खन्याएर फर्किएपछि सोमबार बिहानै अरू गाडी पनि त्यसतर्फ लागेका थिए । तर, गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहित स्थानीय बासिन्दाको टोलीले बिहानदेखि नै अवरोध गरेका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरूलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका छन् ।

राजनीतिक दलहरूको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी परिचालन गरिएको बताए ।

नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएको एसपी रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार धादिङतर्फ स्थानीयले ४० वटा ट्रकहरू सडकमै तेर्स्याएर राखेका छन् । अहिले आन्दोलनकारीलाई प्रहरीले चारैतिरबाट घेरा हालेको स्थानीयले जनाएका छन् ।

यसअघि फोहोर बोकेर गएका गाडी अज्ञात समूहले तोडफोड गरेको थियो । ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस