सांस्कृतिक सम्पदाको खोजी गरी बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १३ : ०४
सांस्कृतिक सम्पदाको खोजी गरी बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताएका छन ।

नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक रहेको बताए । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकास भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए। उनले कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा प्रवद्र्धन भएमा मुलुकलाई विश्व समुदायले पहिचान दिने स्पष्ट गरे ।

प्रज्ञा प्रतिष्ठानले नेपालको कला, साहित्य र संस्कृतिलाई देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान दिएको उनले उल्लेख गरे। प्रधानमन्त्री देउवाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा सहकार्य र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेकोमा प्रतिष्ठानको नेतृत्वलाई धन्यवाद दिँए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाए ।

उनले  प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालयको चाँडै उद्घाटन गर्न लागिएकामा खुसी व्यक्त गरे । सो क्रममा सरकारबाट हुने सहयोग र सद्भावका लागि आफू तत्पर रहेको प्रधानमन्त्री देउवाले विश्वास दिलाए । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को शुभारम्भ गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पूर्ण साहित्यकारका बीचमा प्राज्ञिक नेतृत्व प्रदान गरी नेपालको गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन प्रतिष्ठानले प्रशंसनीय काम गरेको बताए । मन्त्री श्रेष्ठले दक्षिण एसियाली मुलुक र अन्य केही मुलुकसँग दौत्य सम्बन्ध कायम गरेर अनुवाद साथै आदानप्रदानका अन्य काम गरेर नेपाली साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय विस्तारमा प्रतिष्ठानले अनुकरणीय काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस