उपराष्ट्रपति पुनले गरे भैरव नाच अवलोकन

रासस

आइतबार, २९ साउन २०७९, ११ : ५६
उपराष्ट्रपति पुनले गरे भैरव नाच अवलोकन

 काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भक्तपुरको मध्यपुर थिमीस्थित भैरव नाच अवलोकन गरेका छन् । शनिबार बेलुका थिमीको बालकुमारी पुगेर उनले नाच अवलोकन गरेका हुन् ।

उपराष्ट्रपति पुनले त्यहाँ एक घण्टा बिताएका थिए । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उपराष्ट्रपति पुन भैरव नाच हेर्न बालकुमारी गएका थिए । ऐतिहासिक र धार्मिक महत्व बोकेको भैरव नाच प्रत्यक्ष अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारको हालसम्मकै उच्च पदस्थ अधिकारी हुन् ।

लायकू भैलः (भैरव नाच) सँगै यो वर्ष दिगु टोलमा महाकाली, बोडेमा निलबाराही, इन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका गण नाच प्रदर्शन भइरहेको छ । गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्ने परम्परा छ । शनिबारदेखि सुरु भएको नाच राति करिब ८ः३० बजेदेखि सुरु हुन्छ ।

यी ऐतिहासिक नाचलाई प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रवर्द्धन फोरम समेत गठन गरिएको छ । फोरमले संस्कृति, पर्यटन तथा नागरिक उद्दयनमन्त्री, वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासनमन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकन गर्न औपचारिक रुपमा निम्तो पठाएको छ । यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकहरुका लागि होटल तथा लजको व्यवस्थासमेत गरिएको छ ।

मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ । ने.सं ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गरेको बताइन्छ । थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीकै आज्ञा बमोजिम नाच सुरु गरिएको किंवदन्ती छ ।

प्रतिक्रिया दिनुहोस