विश्वकप फुटबल २०१८

कुन कुन देश भिड्दैछन् फुटबलको महासंग्राममा ?

शनिबार, २६ जेठ २०७५, १४ : ४३
कुन कुन देश भिड्दैछन् फुटबलको महासंग्राममा ?

चितवन । जेठ ३१ गते बिहीबारदेखि रसियामा सुरु हुन लागेको विश्वकप फुटबल २०१८ को तयारी अन्तिम चरणमा छ । फुटबल खेलको महासंग्रामको प्रतीक्षामा छन् विश्वका करोडौँ फुटबलप्रेमीहरु । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

समूह “ए” – ( रुस, साउदी अरेबिया, इजिप्ट, उरुग्वे )
रुस: सन् २०१० को डिसेम्बर २ तारिखमा विश्वकप आयोजनाको अधिकार पाएकै दिन रुसले विश्वकप खेल्ने पक्का भएको थियो । ११ औं पल्ट विश्वकप खेल्न लागि रहेको रुस सन् १९६६ मा चौथो भएको थियो ।

साउदी अरेबियाः सन् २००६ पछि पहिलो पल्ट विश्वकपमा स्थान पक्का गरेको साउदी अरेबिया एशियाली क्षेत्रको छनोटमा समूह बी को उपविजेता बनेको हो । पाँचौ पल्ट विश्वकपमा सहभागी हुन लागेको साउदी अरेविया यसअघि सन् १९९४ मा दोश्रो चरणसम्म पुगेको थियो ।

इजिप्टः अफ्रिकी क्षेत्रको छनोटमा समूह ईको विजेता बनेको इजिप्ट सन् १९९० पछि पहिलो पल्ट विश्वकपमा छानिएको हो । सन् १९३४ र १९९० मा इजिप्ट समूह चरणबाटै घर फर्केको थियो ।

उरुग्वेः सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे लगातार तेश्रो पल्ट विश्वकपमा छनोट भएको हो । १३ औं पल्ट विश्वकपमा छनोट हुने क्रममा उरुग्वे यो पल्ट ल्याटिन अमेरिकी क्षेत्रको उपविजेता बनेको हो ।

समूह “बी” – ( पोर्चुगल, स्पेन, मोरक्को, इरान )
पोर्चुगलः विश्वका अहिलेसम्मका उत्कृष्ट फुटबलर मध्येका एक क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल युरोपेली क्षेत्रको समूह बीको विजेता बन्दै लगातार पाँचौ पल्ट विश्वकपमा छनौट भएको हो । सातौं पल्ट विश्वकप खेल्न लागेको पोर्चुगल सन् १९६६ मा तेश्रो भएको थियो ।

स्पेनः सन् २०१० को विश्वकप विजेता स्पेनको यो १५ औं विश्वकप सहभागिता हो । युरोपेली क्षेत्रको छनोटमा समूह जीको विजेता बनेर स्पेन लगातार ११ औं पल्ट विश्वकपमा छनौट भएको हो ।

मोरक्कोः अफ्रिकी क्षेत्रको छनोटमा समूह सीको विजेता बन्दै मोरक्को सन् १९९८ पछि पहिलो पल्ट विश्वकपमा पुगेको हो । पाँचौ पल्ट विश्वकप खेल्न लागेको मोरक्को सन् १९८६ मा अन्तिम १६ मा पुगेको थियो ।

इरानः एशियाली क्षेत्रको छनोटमा समूह एको विजेता बनेर इरानले पाँचौ पटक विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् १९७८, १९९८, २००६ र २०१४ मा उसको यात्रा समूह चरणबाट अघि बढ्न सकेको छैन ।

समूह “सी” – ( फ्रान्स, अष्ट्रेलिया, पेरु, डेनमार्क )
फ्रान्सः सन् १९९६ मा घरेलु मैदानमा भएको विश्वकप उपाधि उचालेको फ्रान्सले त्यसपछिका कुनै पनि विश्वकप गुमाएको छैन । १५ औं पल्ट विश्वकप मैदानमा उत्रिन लागेको फ्रान्स यो पल्ट युरोपेली क्षेत्रको छनोटमा समूह एको विजेता बनेर रुसको टिकट पक्का गरेको हो ।

अष्ट्रेलियाः भुगोलले एशियामा नपर्ने भए पनि एशियाली क्षेत्रबाट विश्वकप छनोट खेल्दै आएको अष्ट्रेलिया अन्तरमहादेशीय प्ले अफमा हण्डुरसलाई पछि पार्दै लगातार चौथो पल्ट विश्वकपमा पुगेको हो । पाँचौं पल्ट विश्वकप खेल्न लागेको अष्ट्रेलिया सन् २००६ मा अन्तिम १६ मा पुगेको थियो ।

पेरुः ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलमा कोलम्बियासँग बराबरी खेलेपछि पाएको प्ले अफको मौकालाई सदुपयोग गरेर पेरुले ३६ वर्षपछि विश्वकपको टिकट पक्का गरेको हो । अन्तरमहादेशीय प्ले अफमा उसले न्युजिल्याण्डलाई हराएको हो पाँचौ पल्ट विश्वकप खल्न लागेको पेरु सन् १९७० मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

डेनमार्कः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा रिपब्लिक अफ आयरल्याण्डलाई समग्रमा ५–१ ले हराउँदै डेनमार्क सन् २०१० पछि पहिलो पल्ट विश्वकपमा छानिएको हो । यो उसको पाँचौ विश्वकप सहभागिता हो ।

समूह “डी” – ( अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया, नाइजेरिया )
अर्जेन्टिनाः ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले हराउँदै लियोनेल मेस्सीको टिम अर्जेन्टिना लगातार १२ औं पल्ट विश्वकपमा छानिएको हो । इक्वेडरसँगको यो खेल नजिकेको भए सन् १९७८ र १९८६ को विजेता अर्जेन्टिना विश्वकपमा छानिने थिएन । यो
अर्जेन्टिनाले १७ औं सहभागिता हुने छ ।

आइसल्याण्डः रुस विश्वकपमा दुई नयाँ टिमले स्थान बनाएकोमा आइसल्याण्ड त्यसै मध्येको एक हो । उसले युरोपेली क्षेत्रको समूह ईको विजेता हुँदै पहिलो पल्ट विश्वकपको अनुभव लिन लागेको हो ।

क्रोएसियाः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा ग्रिसलाई समग्रमा ४–१ ले हराउँदै क्रोएसिया पाँचौ पल्ट विश्वकपमा पुगेको हो । लगातार दोश्रो पल्ट विश्वकप खेल्न लागेको क्रोएसिया सन् १९९८ मा तेश्रो भएको थियो ।

नाइजेरियाः अफ्रिकी क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको नाइजेरियाको यो लगातार तेश्रो विश्वकप सहभागिता हो । छैटौं पल्ट विश्वकप खेल्न लागेको नाइजेरिया सन् १९९४, १९९८ र सन् २०१४ को विश्वकपमा दोश्रो चरणसम्म पुगेको थियो ।

समूह “ई” – ( ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका, सर्बिया )
ब्राजिलः अहिलेसम्म आयोजना भएका सबै विश्वकप खेल्ने एक मात्र टोली ब्राजिल हो । स्न १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी ५ पटक विश्वकप उचालेको ब्राजिल ल्याटिन अमेरिकी क्षेत्रको विजेताको रुपमा रुसमा पुगेको हो ।

स्वीट्जरल्याण्डः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा नर्थन आयरल्याण्डलाई समग्रमा १–० ले हराउँदै स्वीट्जरल्याण्ड ११ औं पटक विश्वकपमा पुगेको हो । लगातार चौथो पल्ट विश्वकप खेल्न लागेको स्वीट्जरल्याण्ड सन् १९३४, १९३८ र १९५४ मा क्वाटर फाइनलसम्म पुगेको थियो ।

कोष्टारिकाः अमेरिकी क्षेत्रको छनोटमा उपविजेता बनेको कोष्टारिकाको यो पाँचौ विश्वकप सहभागिता हो । सन् २०१४ मा कोष्टारिका क्वाटर फाइनलसम्म पुगेको थियो ।

सर्बियाः युरोपेली क्षेत्रको समूह डीको विजेता बनेको सर्बिया समग्रमा १२ औं पल्ट विश्वकपमा छनौट भएको हो । उ सन् १९९२ सम्म युगोस्लाभिया र सन् १९९२ देखि २००६ सम्म सर्बिया एण्ड मोन्टेनेग्रेको अधिनमा रहेको सर्बिया सन् २००६ मा स्वतन्त्र भएको हो ।

समूह “एफ” – ( जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया )
जर्मनीः डिफेन्डिङ च्याम्पियन तथा चार पटकको विश्वविजेता जर्मनीले युरोपेली क्षेत्रको छनोटमा समूह सीको विजेता बन्दै रुसको टिकट पक्का गरेको हो । १९ औं पल्ट विश्वकप खेल्न लागेका उसको यो लगातार १७ औं सहभागिता पनि हो । पहिलो पल्ट सन् १९५४ मा विश्वकप उचालेको जर्मनीले त्यसपछि सन् १९७४, १९९० र २०१४ मा उपाधि जितेको छ ।

मेक्सिकोः अमेरिकी क्षेत्रको छनोटमा विजेता बनेर मेक्सिकोले रुसको टिकट काटेको हो । १६ औं पल्ट विश्वकप खेल्न लागेको मेक्सिकोको यो लगातार सातौं सहभागिता हो । मेक्सिको सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

स्वीडेनः सन् १९५८ को उपविजेता स्वीडेन चार पटकको विश्व विजेता इटालीलाई पछि पार्दै विश्वकपमा पुगेका हो । युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणको होम एण्ड अवे खेलमा इटाली स्वीडेनसँग समग्रमा १–० ले पराजित भएको थियो । स्वीडन सन् २००६ पछि पहिला पल्ट
विश्वकपमा छनौट भएको हो ।

दक्षिण कोरियाः सन् २००२ मा घरेलु मैदानमा भएको विश्वकपमा सेमिफाइनलमा पुगेर सबैलाई आश्चर्यमा पारेको दक्षिण कोरियाको यो १० औं सहभागिता हो । लगातार ९ पल्ट विश्वकपमा स्थान सुरक्षित गर्ने क्रममा दक्षिण कोरिया यो पल्ट एशियाली क्षेत्रको छनोटमा समूह एको
उपविजेता बनेको हो ।

समूह “जी” – ( बेल्जियम, पनामा, ट्युनिसिया, इंग्ल्याण्ड )
बेल्जियमः युरोपेली क्षेत्रको समूह एचको विजेताका रुपमा बेल्जियमले १३ औं पटक विश्वकपमा स्थान पक्का गरेको हो । बेल्जियम सन् १९८६ मा चौथो भएको थियो ।

पनामाः आउँदो विश्वकप खेल्ने २ नयाँ टोली मध्येको एक टोली पनामा हो । अमेरिकी क्षेत्रको छनोटमा पनामा तेश्रो भएर विश्वकपमा पुगेको हो ।

ट्युनिसियाः अफ्रिकी क्षेत्रको छनोटमा समूह एको विजेता बनेको ट्युनिसिया सन् २००६ पछि पहिलो पल्ट विश्वकपमा पुगेको हो । ट्युनिसियाले अहिलेसम्म खेलेका सबै ४ वटा विश्वकपमा समूह चरण पार गर्न सकेको छैन ।

इंग्ल्याण्डः सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्ड युरोपेली क्षेत्रको छनोटमा समूह एफको विजेता बन्दै लगातार छैटौं पल्ट विश्वकपमा छनोट भएको हो । समग्रमा उसको यो १५ औं सहभागिता हो ।

समूह “एच” – ( पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान )
पोल्याण्डः आठौं पल्ट विश्वकप खेलिरहेको पोल्याण्ड सन् २००६ पछि पहिलो पल्ट छनोट हुन सकेको हो । युरोपेली क्षेत्रको छनोटमा समूह ईको विजेता बनेको पोल्याण्ड सन् १९७४ र १९८२ मा तेश्रो भएको थियो ।

सेनेगलः सन् २००२ को पहिलो विश्वकप सहभागितामा क्वाटर फाइनलसम्म पुगेर सनसनी मच्चाएको सेनेगलले त्यसपछिका विश्वकपमा स्थान बनाउन सकेका थिएन । तर यो पटक अफ्रिकी क्षेत्रको छनोटमा समूह डीको विजेता बनेर सेनेगलले रुसको टिकट पक्का गरेको हो ।

कोलम्बियाः अर्जेन्टिनाजस्तै कोलम्बिया पनि ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलबाट विश्वकपमा पुगेको हो । उसले पेरुलाई एक एकको बराबरीमा रोक्दै रुसको टिकट काटेको हो । गत संस्करणमा क्वाटर फाइनलसम्म पुगेको कोलम्बियाको यो छैटौं विश्वकप सहभागिता हो ।

जापानः जापान लगातार छैटौं पटक विश्वकप खेल्ने एशियाली देश हो । यो पटक एशियाली क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको जापानले सन् २००२ मा घरेलु भूमिमा समूह चरण पार गरेको थियो । यस्तै उसले सन् २०१० मा पनि समूह चरण पार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस