प्रधानमन्त्रीसँग सकारात्मक कुरा भयो, हामी पनि सरकारमा जान सक्छौँ : राजेन्द्र महतो

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १० : २९
प्रधानमन्त्रीसँग सकारात्मक कुरा भयो, हामी पनि सरकारमा जान सक्छौँ : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टी पनि सत्तारुढ गठबन्धनमा सहभागी हुन सक्ने बताएका छन् । नेता महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग सकारात्मक कुराकानी भइरहेको जानकारी दिए । 

आइतबार साँझ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग लोसपाका नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको नेता महतोले बताए । 

‘नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ’, उनले भने । प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक रहेको बताएको महतोको भनाइ छ । 

भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता थियो ।