विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १५ : ०२
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । सुर्खेत, मकवानपुर, कञ्चनपुर र तनहुँबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ गुरुङचोकबाट करिब २ सय ७० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने दैलेख नौमुले गाउँपालिका–२ घर भएका २२ वर्षीय जिबन कुमार सिंह र उनकै श्रीमती २० वर्षीया बिमला बुढा क्षेत्री रहेका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको लागूऔषध ब्युरो, प्रदेश लागूऔषध ब्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ कमानेभोर्ले बस्ने ५६ वर्षीय मंगलसिंह भोम्जन र २९ वर्षीय कृष्ण थिङलाई करिब ४ केजी ५ सय ग्राम गाँजासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा मंगलसिहं भोम्जनको घरबाट  करिब ४ किलो र कृष्ण थिङको घरबाट करिब ५ सय  ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट करिब १४ ग्राम ७५ मिलिग्राम खैरो हेरोइन सहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साफेबगर नगरपालिका–७ रिडिकोट बस्ने २२ वर्षीय दिपेन्द्र केसी र कञ्चनपुर कृष्णपुर नगरपालिका–४ गुलरीया बस्ने २४ वर्षीय गणेश भण्डारी रहेका छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरु सवार मोटरसाइकलको सिटकभरभित्र उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको  हो । 

तनहुँको सुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट करिब दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–६ गोगने ककनी घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेक साईड बस्ने २८ वर्षीय विश्व कार्की रहेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ३८७३ नम्बरको माईक्रो बसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार कार्कीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस