आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दै

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १३ : १८
आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दै

काठमाडौँ । मकवानपुरमा पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको आकर्षण बढ्दै गएको छ । कम खर्चमा राम्रो स्वास्थ्य उपचार हुने भन्दै आयुर्वेद उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अघिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारमा बिरामीको कमै ध्यान जाने गरेको भए पनि अहिले भने उपचारका लागि आयुर्वेदबाट सेवा लिनेको सङ्ख्या बढ्न थालेको हो ।

दैनिक रूपमा ६० देखि ८० जनासम्म बिरामी आयुर्वेदिक उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेक ताप गर्दै रोग अनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका कविराज डा. नितेश गिरी बताउँछन् । 

एक वर्षमा ९ हजार बढीले लिए सेवा 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गत आर्थिक वर्ष २०७८/०७९ मा ९ हजार १ सय ११ बिरामीले आयुर्वेद उपचारको सेवा लिएको केन्द्रको तथ्याङ्क छ । ४ हजार ५ सय १५ महिला र ४ हजार ४ सय ९५ पुरुषले सेवा लिएको केन्द्रका सूचना अधिकारी अशोक कुमार झाले जानकारी दिए । 

आर्थिक वर्षको पहिलो महिना साउनमा ५ सय ३९ महिला र ४ सय ७४ पुरुष गरी १ हजार १३ जनाले उपचारको सेवा लिएका छन् । त्यस्तै भदौ महिनामा ५ सय ५५ महिला र ५ सय ९३ पुरुष गरी १ हजार ८८, असोजमा ३ सय ८७ महिला र ३ सय ५१ पुरुष गरी ७ सय ३८, कार्तिकमा ३ सय ८० महिला र ५ सय ५ पुरुष गरी ८ सय ८५ ले उपचार गराएका छन् । 

यस्तै मंसिरमा ३ सय ७५ महिला र ३ सय ५१ पुरुष गरी ७ सय २६ ले उपचार गराएका छन् भने पुसमा ४ सय ५ महिला र ४ सय ८९ पुरुष गरी ८ सय ९४, माघ २ सय ७७ महिला र २ सय ८२ पुरुष गरी ५ सय ५९, फागुनमा ३ सय ८ महिला र ३ सय १३ पुरुष गरी ६ सय २१ र चैत्रमा ४ सय २० महिला र ३ सय ५२ पुरुष गरी  ७ सय ७२ जनाले उपचारको सेवा लिएको तथ्याङ्क छ । 

त्यस्तै वैशाख महिनामा ३ सय ५५ महिला र २ सय ८४ पुरुष गरी ६ सय ९, जेठमा ३ सय ३१ महिला र ३ सय ७६ पुरुष गरी ७ सय ७ र आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा ३ सय ६८ महिला र २ सय ९७ पुरुष गरी ६ सय ६ जनाले उपचारको सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस