आजदेखि विश्व स्तनपान सप्ताह सुरु

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १२ : ५७
आजदेखि विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्धत पुग्ने अध्ययनहरूले देखाएका छन् । 

युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिन्छन् । आमाको दूधमा शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने सम्पूर्ण तत्वसहित ८७ प्रतिशत पानी, ७ प्रतिशत गुलियो पदार्थ, ४ प्रतिशत चिल्लो पदार्थ र १ प्रतिशत प्रोटिन हुन्छ । यसले शिशुलाई झाडापखाला, विभिन्नखाले एलर्जी तथा अन्य रोगहरुको संक्रमणबाट बचाउँछ । 

आमाको दूधले शिशुलाई कुपोषण हुनबाट बचाउँछ भने बालबालिकाको मृत्युदर १६ प्रतिशत र नवशिशुको मृत्युदरलाई २५ प्रतिशतले घटाउँछ । स्तनपान गराउनाले आमा र शिशुबीच विशेष सम्बन्ध कायम गर्छ भने आमालाई मधुमेह, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

प्रतिक्रिया दिनुहोस