काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन्।
आइतबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन्। उनले आइकाओले गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताए।
सम्बन्धित पक्षले नेपाल नागरिक उड्ड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौँ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने उनको भनाइ छ।
उनले भने, ‘युरोपियन युनियनको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ, त्यसको लागि हामीले उच्च प्राथमिकताकासहित काम अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेकै हौँ। सम्बन्धित निकायहरुसँग कुराकानी गर्ने काम्पनी निरन्तर रुपमा भइरहेकै हो। आइकाओले अडिट गरेको अवस्थामा हामीले जुन पोजिशन पाएका छौँँ, हामीले राम्रो स्कोर पाएका छौँ भने अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ, पार्टनरसीपमा हामी जान चाहन्छौँ, त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ।
मलाई लाग्छ, यो हाम्रो लागि खुशीको कुरा हो। अब हामी यो प्रक्रियाबाट चाँडै नै युरोपियन युनियन अथवा इशाको तर्फबाट हामीलाई जुन लिस्डेट भइरहेको स्थिति हो, त्यसबाट अनसाइट अडिट भइसकेपछि हामी यो लिस्टेड बाट हट्छौँ र हामी युरोप फ्लाइटहरु पनि गर्नसक्ने स्थिति निर्माण हुन्छ भन्ने मलाई लाग्छ। यो हामी सबैको लागि खुशीको सन्देश हो।’
उनले भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरिने बताए। त्यसका लागि नयाँ विमानहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ साउन २०७९, १७ : ३२
लेखकबाट थप