सामुदायिक विद्यालयमा विद्यार्थीको उपचारका लागि शय्या

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, ०९ : १९
सामुदायिक विद्यालयमा विद्यार्थीको उपचारका लागि शय्या

दाङ । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले ४ शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि शय्या स्थापना गरिएको हो । विद्यालयले नै ४ लाख रुपैयाँ लगानी गरेर विद्यालयमा ४ वटा शय्या सञ्चालनमा ल्याएको हो । 

विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५–२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैंले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो । ‘अस्पतालमा दैनिक १५–२० विद्यार्थी बिरामी पर्न थाले,’ उनले भने, ‘त्यसपछि हामीले आफ्नै लगानीमा ४ शय्या स्थापना गरेर उपचार गर्न थालेका हौं ।’

शय्या स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उनको भनाइ छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उनले बताए । विद्यार्थी सामान्य बिरामी भएपछि स्कूलमै उपचार गर्ने गरिएको छ ।

‘अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरिएको छ,’ उनले भने, ‘हामीले स्वास्थ्यकर्मी माग गरिरहेका छौं तर पाउन सकिएको छैन ।’ 

सरकारले १ विद्यालय, १ स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । ‘हामीले पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराएका छौं,’ उनले भने, ‘तर अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस