बन्दीगृहलाई सुधारगृहको रूपमा परिणत गर्ने कार्ययोजनामा हामी छौँ: गृहमन्त्री खाँण

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १४ : २७
बन्दीगृहलाई सुधारगृहको रूपमा परिणत गर्ने कार्ययोजनामा हामी छौँ: गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाँणले यस्तो बताएका हुन्।

उनले अधिकांश कारागारहरू सहरको मध्यभागमा रहेको भन्दै ती कारागारहरूलाई ठूलो भू-भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताए।

गृहमन्त्री खाँणले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ। त्यसका लागि हामी प्रयत्नशील छौँ। अधिकांश बन्दी गृहहरू, कारागारहरू सहरबजारको मध्यभागमा नै छन्। मध्य भागका जेलहरूलाई बाह्य भूभागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरूको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको छ। जेलको क्षेत्रफल पनि ठूलो होस्। उनीहरूलाई मनोरञ्जनलगायत कामहरू पनि गर्न सकियोस्। उपयुक्त ठाउँमा जमिन खोजेर बजेटको व्यवस्थापन गरेर नयाँ बन्दीगृह बनाउने र त्यसलाई सुधारगृहको रूपमा परिणत गरेर बन्दीहरूलाई सुविधाजनक जीवन जिउने वातावरण बनाउने हामी कार्ययोजनामा छौँ।’

कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस