अर्थतन्त्रमा चाप परेको छ, विलासी वस्तु आयात नगरौँः प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, २० : ०९
अर्थतन्त्रमा चाप परेको छ, विलासी वस्तु आयात नगरौँः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिएका छन्। आइतबार नेपाल उद्योग परिसंघको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

उनले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए।

प्रधानमन्त्री देउवाले मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुवै चाप परेको स्थिति छ। बढ्दो उपयोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदीका कारण मुलुकको अर्थतन्त्रलाई थप सुदृढ गर्न हामी सबैले बुद्धिमतापूर्ण ढंगले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो छ। यसका लागि सरकार र निजी क्षेत्र दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ।’

उनले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामाग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्पर्धामा सहयोग पुर्‍याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गरे।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुने गरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताए।

उनले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरुहरुमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको पनि बताए। प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिन पनि आग्रह गरे।

उनले थपे, ‘अर्थतन्त्रको सुदृढीकरणको लागि उद्यमी व्यवसायीहरुले विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न र उपयोग बढाउनतिर मात्र नलागेर स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्पर्धामा सहयोग पुर्‍याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गर्दछु।’

उनले उद्योगी, व्यवसायीहरुले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभइ दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मुलुकभित्रको कच्चा पदार्थको परिचालन गरी निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गरे। प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए।

उनले निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधाहरु, उपलब्ध गराउन सरकार सधैँ प्रतिवद्ध रहेको स्पष्ट पार्दै मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास बिना आर्थिक विकास र समृद्धि आउन नसक्ने दाबी गरे।

उनले निजी क्षेत्रको बलियो संलग्नता बिना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन नसकिने भन्दै यसलाई आत्मसाथ गरी निजी क्षेत्रलाई उचित वातावरणको लगानी गराउने, सरल र सहज रुपमा उद्यम, व्यापार सञ्चालन गर्नसक्ने वातावरण सिर्जना गर्न सरकारले विभिन्न कानूनी, नीतिगत र संस्थागत सुधार गर्दै आइरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस