नेपाली सेनालाई विपद्‌मा प्रयोग हुने सवारी साधन हस्तान्तरण

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १७ : ३६
नेपाली सेनालाई विपद्‌मा प्रयोग हुने सवारी साधन हस्तान्तरण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपद्‌मामा प्रयोग हुने सवारीसाधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन्।

हस्तान्तरण भएका सामग्रीमा आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स रहेका छन्। यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत ‘ए क्लास’का एम्बुलेन्समा हुने सबै खालका उपकरण जडान गरिएका छन्। यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउँछन्।

उनका अनुसार यो नेपालका लागि पहिलो विपद् सामूहिक उद्धार एम्बुलेन्स हो। यी सवारीसाधनमा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरुले समेत उपचारमा गाइड गर्न सक्नेछन्।

मोबाइल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सात वटा प्रदेशमा १-१ वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौँ उपत्यकामा रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

गृहमन्त्री खाँणद्वारा हस्तान्तरण गरिएका थप साधनमा आठ वटा नै ‘ए क्लास एम्बुलेन्स’ छन्। यी एम्बुलेन्सहरु समेत सात वटा प्रदेशमा १-१ वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौँ उपत्यकामा रहने प्राधिकरणले बताएको छ।

यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपीएफ अस्पतालसँगको समन्वयमा सञ्चालन रहने बताइएको छ।