नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १९ : ०५
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ  । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ। भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको बताए।

कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै भएको र अहिले आएर दोष देखिएको बताए। उनले नेपाली टोलीले आफ्नो कमी कमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको बताए।

प्रशिक्षका पुबुदु दासानायकेले भ्रमण सोचेजस्तो नभए पनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए। टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता भएकाले अनुभवको धेरै खाँचो रहेको उनको भनाइ छ।

आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला खेलेर नेपाली टोली नेपाल फर्किएको हो। स्कटल्याण्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेका थियो। जसअन्तर्गत नेपालले एक खेलमा सुखद् नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो।

नामिबियासँगका दुई खेलमध्ये दुवैमा नेपाल पराजित भएको थियो भने घरेलु टोली स्कटल्याण्डसँगको पहिलो खेलमा नेपालले सुखद् नतिजा निकाल्दा अन्तिम खेलमा पराजित भएको थियो।

श्रृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो। तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस