बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १६ : ५१
बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु

काठमाडाैँ । बागलुङका १० स्थानीय तहमा करिब २१ करोड रुपैयाँ बेरुजु देखिएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो।

आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम काठेखोला गाउँपालिकामा देखिएको छ। काठेखोला गाउँपालिकाको ३.५० प्रतिशत रकम बेरुजु रहेको छ। जुन कुल खर्च बजेट मध्येको ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको हो।

बडिगाड गाउँपालिकाको १.२६ प्रतिशत रकम बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। जुन १ करोड ४७ लाख ४ हजार हो। गाउँपालिकाका अनुसार नमुना विद्यालयको रुपमा अमर माविको भवन तथा संरचना बनाउनका लागि भएको भुक्तानी रकम १ करोड ५० लाख समेत बेरुजु देखिएको छ।

त्यस्तै वडा कार्यालय भवन निर्माण गर्दा उपभोक्ता समितिमार्फत काम भएको भन्दै निर्माण खर्चलाई बेरुजुमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत चूर्ण बहादुर कार्कीले जानकारी दिए।

बागलुङ नगरपालिकाको २ करोड ६६ लाख २६ हजार अर्थात १.३३ प्रतिशत, गलकोट नगरपालिकाको २ करोड ४५ लाख २१ हजार अर्थात् कुल खर्चको १.७५ प्रतिशत, जैमिनी नगरपालिकाको २ करोड १ लाख ३१ हजार अर्थात् कुल खर्च रकमको १.३० प्रतिशत र ढोरपाटन नगरपालिकाको १ करोड ५३ लाख ६९ हजार अर्थात कुल खर्चको १.५२ प्रतिशत रकम बेरुजु देखिएको छ।गत वर्ष सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा बेरुजु देखिएको थियो।

जिल्लाको निसीखोला गाउँपालिकाको २ करोड १९ लाख ११ हजार अर्थात कुल खर्चको २.४९ प्रतिशत, ताराखोला गाउँपालिकाको १ करोड ९६ लाख ३४ हजार अर्थात् कुल खर्चको २.४० प्रतिशत, बरेङ गाउँपालिकाको १ करोड ४० लाख ५५ हजार अर्थात् कुल खर्चको १.७३ प्रतिशत र तमानखोला गाउँपालिकाको १ करोड १२ लाख ३५ हजार रुपैयाँ अर्थात् कुल खर्चको १.७९ प्रतिशत बेरुजु रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले अघिल्लो वर्षकोभन्दा आर्थिक वर्ष २०७७/०७८ मा बेरुजुको अवस्थामा सुधार ल्याएका हुन्। ढोरपाटन नगरपालिकाको गतवर्ष सार्वजनिक प्रतिवेदनमा ६ प्रतिशतभन्दा धेरै बेरुजु थियो भने बागलुङ नगरपालिकाको बेरुजु ४ प्रतिशतको थियो।

महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार असुल गर्नुपर्ने भन्दा धेरै बेरुजु प्रक्रिया नपुगेका कारणले देखिएको हाे।

बागलुङका १० स्थानीय तहको अघिल्लो पटक बेरुजु १७ करोड ६८ लाख ८६ हजार रहेको थियो। महालेखाले ५८ पटक सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रहेको थियो। अहिले बढेर २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ।

अघिल्लो पटक बागलुङ नगरपालिकाको १.६४ प्रतिशत, जैमिनीमा नगरपालिकाको १.१४ प्रतिशत, ढोरपाटन नगरपालिकाको ६.७६ प्रतिशत र गलकोट नगरपालिकाको ०.८७ प्रतिशत बेरुजु देखिएको थियो।

काठेखोला गाउँपालिकाको १.६१ प्रतिशत, ताराखोला गाउँपालिकाको १.६१ प्रतिशत, बरेङ गाउँपालिकाको सबैभन्दा थोरै प्रतिशत ०.४२ प्रतिशत, तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत,  निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत र बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु रकम देखिएको थियो।

प्रतिक्रिया दिनुहोस