ठमेल पर्यटन परिषद्को नेतृत्व चयनका लागि निर्वाचन शुरू

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १३ : ०७
ठमेल पर्यटन परिषद्को नेतृत्व चयनका लागि निर्वाचन शुरू

काठमाडाैँ । नेपालकै पुरानोमध्ये एक पर्यटकीय क्षेत्र ठमेलको विकासका लागि गठन गरिएको ठमेल पर्यटन परिषद्मा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । 

शनिवार हुने ठमेल पर्यटन परिषद्को निर्वाचनमा ठमेल क्षेत्रका एक हजार ५९९ घरधनी तथा व्यवसायीले आफ्नो मताधिकार प्रयोग गर्ने परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले जानकारी दिए । ठमेलको नयाँ नेतृत्वका लागि भविश्वर शर्मा र ध्रुव अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै प्रत्यासीले समूह बनाई निर्वाचनमा भाग लिने तयारीमा छन् । 

यसअघि कोरोना महामारीका कारण सुस्त बनेको ठमेल क्षेत्रमा पर्यटकहरुको आवागमन बढिरहेको छ । परिषद्ले कोरोना महामारीका कारण तीनवर्षपछि वार्षिक साधारणसभा बोलाएको छ । 

परिषद्को २७ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका छन् । त्यसक्रममा उनले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । ‘पर्यटन क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको छ, कोरोनाबाट थलिएको पर्यटनलाई अगाडि बढाउन स्थानीय प्रशासन सधैँ सहयोग गर्न तयार छ’, उनले भने । 
 
केही पर्यटन व्यवसायीबाट ठमेललाई बद्नाम गराउने कार्य भएको भन्दै उनले त्यस्ता व्यवसायीमाथि स्थानीय प्रशासनले निगरानी गरिरहेको उल्लेख गरे । प्रजिअ रिजालले देशकै पुरानो पर्यटकीय क्षेत्रलाई जोगाएर राख्नु सबै व्यवसायी तथा घरधनीको उत्तिकै दायित्व हुने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले रोजगारी सिर्जना गर्ने व्यावसायिक थलो ठमेलको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । ठमेल पर्यटन परिषद्का पूर्वध्यक्ष डा रामशरण थपलिया र समीर गुरुङले घरधनी तथा व्यवसायी मिलेर ठमेल क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए । 
 

प्रतिक्रिया दिनुहोस