काठमाडाैँ । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा स्पोर्टस ब्रान्ड लि–निङको ब्रान्ड एम्बेसेडर बनेकी छन्। चाइना ट्रेड लिंक कम्पनीले गोलरक्षक तुम्बापोसँग शुक्रबार सम्झौता गरेको हो।लि–निङको तर्फबाट नेपालका प्रमुख राजन महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ब्याडमिन्टन र टेबलटेनिसमा सहकार्य गर्दै आएको लि–निङ ब्राण्डले औपचारिक रुपमा फुटबल खेलाडीलाई नेपालको ब्राण्ड एम्बेसेडर बनाएको पहिलोपटक हो।
सम्झौताअनुसार चाइना ट्रेडिङले एन्जिलालाई आफ्नो कम्पनीबाट उत्पादित स्पोर्टस ब्रान्ड उपलब्ध गराउनेछ। साथै करार अवधिभर केही छुट र सहुलियतमा एन्जिलाले लि–निङको सामग्री प्राप्त गर्नेछिन्।
सम्झौताअनुसार एन्जिलाको एटिएस–१६ लोगो राखेर चाइना ट्रेडिङले कपडा पोसाकलगायत खेलकुद सामाग्री उत्पादन गर्ने अनुमति पाएको छ। एटिएस–१६ लोगो प्रयोग गरेर उत्पादन गरिएका सामान बिक्रीपश्चात् खुद नाफाको १० प्रतिशतमध्ये ५ प्रतिशत एन्जिला र ५ प्रतिशत विभिन्न वर्गका खेलाडीलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। सम्झौताको अवधि दुई वर्षको रहने जनाइएको छ।
एन्जिला अहिले आफ्नो बायोपिक एन्जिलाको तयारीमा छन्। फुटबलसँगै अभिनयमा समेत देखिन थालेकी एन्जिलालाई लि–निङ नेपालसँगको पछिल्लो सहकार्यले सहयोग हुने विश्वास चाइना ट्रेडिङले लिएको छ।
लि–निङ नेपालका प्रमुख महर्जनले खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। लि–निङसँगको सहकार्यबाट उत्साहित रहेको एन्जिलाले बताइन्। उनले स्पोर्टस ब्रान्डसँगको सहकार्यले करियरलाई सहयोग पुग्ने आशा राखेको बताइन्। इलामको सूर्योदय नगरपालिका–११ की एन्जिला हाल विभागीय टोली सशस्त्र प्रहरीमा आबद्ध छिन्।सन् २०१४ बाट उनी नेपाली सिनियर राष्ट्रिय महिला टोलीमा रहँदै आएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १२ : १४
लेखकबाट थप