एमालेले उठायो हतियार खरिदको विषय

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १३ : ५३
एमालेले उठायो हतियार खरिदको विषय

काठमाडौँ  । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको छ भन्ने विषयबारे संसदलाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गरेकी हुन् । 

उनले सो सम्बन्धमा प्रधानमन्त्री देउवाले संसद बाहिर कुरा उठाए पनि संसदभित्र जानकारी नगराएको भन्दै आक्रोशसमेत व्यक्त गरिन् । ‘संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि ठूलो रकम छुट्टयाइएको कुरा उठिराखेको छ । र, सरकार चीन र भारतबाट तालमेल गरिरहेको कुराहरु बुझिएको छ । तत्काल प्रधानमन्त्री संसदभित्र आएर यो कुरा प्रष्ट पार्नुपर्छ भन्ने कुरा म सभामुखमार्फत यो कुरा राख्न चाहन्छु, उनले भनिन् । 

सांसद खरेलले झापा जिल्लाको विभिन्न स्थानमा जंगली हात्ति आतंकका कारण धानबालीसमेत लगाउने अवस्था नआएको जानकारी गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । 

सांसद खरेलले धानबाली लगाउने बेलामा धानको विउको समेत किसानलाई सरकारले व्यवस्था गर्न नसकेको गुनासो पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस