आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड ५४ लाख ४२ हजार रुपैयाँ बेरुजु

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १२ : ४९
आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड ५४ लाख ४२ हजार रुपैयाँ बेरुजु

काठमाडौँ  । दाङमा स्थानीय तहमा बेरुजु रकमको दर बढेको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड ५४ लाख ४२ हजार रुपैयाँ बेरुजु बढेको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनमा जिल्लाका दश स्थानीय तहको बेरुजु रकम समेत खुलाईएको छ।

जिल्लामा ७१ करोड ७६ लाख ५७ हजार रुपैयाँ बेरुजु देखाइएको छ। तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको हो। तुलसीपुरमा १७ करोड ३६ लाख ५८ हजार रुपैयाँ बेरुजु आएको छ। अघिल्लो प्रतिवेदनमा तुलसीपुरमा १३ करोड ७० लाख बेरुजु देखिएको थियो।

दंगिशरण गाउँपालिकामा २ करोड २ लाख १५ हजार बेरुजु देखिएको छ। दश स्थानीय तहमा यस बर्ष बेरुजु थोरै आउने पालिकामा दंगिशरण परेको छ। तर, अघिल्लो आर्थिक बर्षको तुलनामा अहिले सार्वजनिक गरिएको प्रतिवेदनमा दंगिशरणमा बेरुजु बढेको पाइएको छ। यस अघि दंगिशरणमा एक करोड ७९ लाख १५ हजार बेरुजु देखिएको थियो।

बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाले यस वर्ष बेरुजु घटाएको देखिन्छ। बंगलाचुली गाउँपालिकामा ३ करोड ९१ लाख ६३ हजार रुपैयाँ बेरुजु आएको छ। अघिल्लो प्रतिवेदन अनुसार बंगलाचुलीको बेरुजु छ करोड ५३ लाख ८३ हजार थियो।

यस्तै लमही नगरपालिकाको यस वर्ष ७ करोड ५० लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । अघिल्लो पटक बेरुजु १६ करोड ५८ लाख ८२ हजार पुगेको थियो। यी दुई पालिका बाहेक अन्य ८ वटा पालिकामा गत वर्षको तुलनामा वर्ष बेरुजु बढेको छ।

घोराही उपमहानगरपालिकामा १३ करोड ७४ लाख ३८ हजार बेरुजु आएको छ। यसअघि घोराहीमा ११ करोड १२ लाख मात्रै बेरुजु थियो। शान्तीनगर गाउँपालिकाको बेरुजु तीन करोड ४१ लाख ४२ हजार छ।

अघिल्लो पटक शान्तीनगरमा एक करोड ७६ लाख ९४ हजार मात्रै बेरुजु थियो। गढवा गाउँपालिकामा ८ करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु छ। अघिल्लो बर्ष गढवामा चार करोड २६ लाख २९ हजार मात्रै बेरुजु थियो। अघिल्लो टक सबैभन्दा कम बेरुजु आएको बबई गाउँपालिकामा अहिले सार्वजनिक प्रतिवेदनमा बेरुजु रकम बढेको छ। अहिले ४ करोड १७ लाख ७५ हजार रुपैयाँ बेरुजु आएको छ। अघिल्लो पटक बबईमा ७२ लाख ३९ हजार रुपैयाँ मात्रै बेरुजु थियो।

राजपुर गाउँपालिकामा ५ करोड ९८ लाख ३ हजार रुपैयाँ बेरुजु आएको छ। यहाँ चार करोड ८१ लाख ३७ हजार रुपैयँ बेरुजु थियो। राप्ती गाउँपालिकामा ५ करोड ३७ लाख ७१ हजार रुपैयाँ बेरुजु आएको छ। अघिल्लो पटक दुई करोड ९१ लाख ३६ हजार मात्रै बेरुजु आएको थियो।

प्रतिक्रिया दिनुहोस