थाइल्याण्डमा हुने एसियाली क्याडेड तथा जुनियर जुडोमा नेपालका चार खेलाडी

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १२ : २१
थाइल्याण्डमा हुने एसियाली क्याडेड तथा जुनियर जुडोमा नेपालका चार खेलाडी

काठमाडौँ  । थाइल्याण्डको बैंककमा आयोजना हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै विधामा १–१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

साउन १ देखि ७ गतेसम्म हुने च्याम्पियनसिपमा जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ तथा क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् । च्याम्पियनसिपका लागि ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गर्नेछ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै शुक्रबार बिदाइ गरेका छन् । सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीलाई हौसला दिएका थिए ।

नेपाली टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष वज्राचार्य छन् ।टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् । जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार पनि टोलीसँग बैंकक जाने छन् ।

प्रतिक्रिया दिनुहोस