मोरङ कारागारमा फैलियो कोरोना संक्रमण, १ कैदीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, ११ : ५६
मोरङ कारागारमा फैलियो कोरोना संक्रमण, १ कैदीको मृत्यु

विराटनगर । ज्वरोको प्रकोप बढेसँगै जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ। अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो।

कोसी अस्पतालमा उपचाररत रहेकाको शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको थियो।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले अत्यधिक ज्वरो आएर उपचाररत रहेका कैदी बन्दीको एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिए। 

एन्टिजेन रिपोर्ट पोजिटिभ आएको र थप यकिन गर्नलाई पीसीआर परीक्षणको तयारी भइरहेको उनले बताए। डा. खरेलका अनुसार अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। कारागारमा रहेका १८ जनामध्ये १६ जनाको एन्टिजेन परिक्षण गर्दा पोजिटिभ आएको हो। २ जनाको नेगेटिभ आएको कारागारले जनाएको छ ।  कारागारमा रहेका अन्य सबै बिरामीलाई पिसिआर परिक्षणको तयारी थालिएको छ । 

प्रहरीका अनुसार १०५ डिग्रीसम्म ज्वरो आएका ज्यान मुद्दाका कैदी नीरबहादुर नेपालको उपचारका क्रममा मृत्यु भएको हो । कारागारका अनुसार एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएकाहरुमा १०२ डिग्रीभन्दा धेरै ज्वरो छ। स्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने सबै खालका लक्षण रहेको उनले बताए।  कारागारमा लगभग एक साताअघिदेखि ज्वरो सुरु भएको थियो। 

प्रतिक्रिया दिनुहोस